काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतअनुसार ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो।
जसअनुसार अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति जेठ १९ गतेसम्म हुनेछ भने सो अवधिमा माग अनुसार आवेदन नपरेमा समय जेठ २८ गतेसम्म थपिनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखाहरू, वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया