हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री

हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । काठमाडौंमा सुरु भएको पहिलो ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिमालहरूलाई मानव जातिका साझा स्रोतको रूपमा परिभाषित गर्दै जलवायु परिवर्तनले पारेको गम्भीर असरबारे चेतावनी दिएकी छिन्। उनले हिमालय क्षेत्र करोडौं मानिसका लागि ताजा पानीको मुख्य स्रोत भए पनि हाल जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर खेपिरहेको बताइन्। जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, जसले हिमाली समुदायको दैनिकीमा गम्भीर असर पारेको मन्त्री राणाको भनाइ थियो।

उनले जलवायु प्रेरित बाढी, हिमताल विस्फोट, डढेलो र खडेरीले मानव अस्तित्वमा नै संकट सिर्जना गरिरहेको उल्लेख गरिन्। नेपालजस्तो नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देशले जलवायु परिवर्तनका असमान असरहरू भोगिरहेको बताउँदै, उनले जलवायु न्याय र ऐक्यबद्धतामा आधारित अन्तरराष्ट्रिय सहकार्यको माग गरिन्। नेपालले सन् २०४५ सम्म शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको र जलविद्युत तथा सामुदायिक वन व्यवस्थापनमार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको जानकारी पनि उनले दिइन्।

स्थानीय समुदायका अनुभव र ज्ञानलाई महत्व दिनु आवश्यक रहेको उनको भनाइ थियो। जलवायु परिवर्तन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्ति, सुरक्षा, खाद्य सुरक्षा, बसाइँसराइ र मानवीय संकटसँग जोडिएको भएकाले यस मञ्चले गहिरो विमर्शको अवसर दिने विश्वास उनले व्यक्त गरिन्। डा. राणाले सगरमाथा संवादलाई नयाँ विचार, सहयोग र राजनीतिक इच्छाशक्ति उत्पन्न गर्ने महत्वपूर्ण पहलका रूपमा उल्लेख गरिन्।

Recent Comments

No comments to show.