काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी, महासागर र मानवताको अस्तित्व बचाउन हिमालहरूको संरक्षण आवश्यक रहेको स्पष्ट पारेका छन्। पहिलोपटक नेपाल सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको मानवता नै जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गर्दै सगरमाथा संवादको अवधारणा ल्याइएको बताए।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले ल्याएको संकटसँग जुध्न विश्व समुदायबीच इमानदार संवाद, आपसी ज्ञान आदानप्रदान र साझा कदम आवश्यक भएको उल्लेख गरे। “यही गहिरो अन्तरनिर्भर यथार्थभित्रबाट सगरमाथा संवादको जन्म भएको हो,” उनले भने।
उद्घाटन मन्तव्यमा उनले जलवायु परिवर्तनका कारण नेपालमा पहिरो, बाढी र खडेरीले बारम्बार विनाश मच्चाइरहेको बताउँदै पनि नेपाली जनता अझै दृढताका साथ टिकिरहेको उल्लेख गरे। “हाम्रा घरबासहरू पहिरोले बगाइरहेका छन्, बाढी र खडेरी अकस्मात आउँछन्, तर अझै हामी डटिरहेका छौँ,” उनले भने, “हाम्रा उत्सर्जनहरू न्यून छन्, तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्त्वपूर्ण छ।”
प्रधानमन्त्री ओलीले सगरमाथा संवादले उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र साझा दृष्टिकोणसहित भविष्य निर्माणको दिशामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले संवादलाई विश्वव्यापी सरोकारका विषयमा गम्भीर छलफलको मञ्च बनाउने आह्वान समेत गरे।
प्रतिक्रिया