काठमाडौंमा राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौंमा राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन गर्दैछ। राप्रपाले राजधानीको बिजुली बजार क्षेत्रबाट प्रदर्शन सुरु गर्ने तयारी गरेको छ।

प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार र राष्ट्रपति भवनलगायतका क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको बाक्लो तैनाथी गरिएको छ। निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारीमा प्रहरी रहेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रदर्शन शान्तिपूर्ण राख्न र निषेधित क्षेत्र उल्लंघन नगर्न राप्रपाका कार्यकर्तालाई आग्रह गरेको छ। सवारी व्यवस्थापनलाई सहज बनाउन वैकल्पिक रुटहरू पनि तय गरिएको छ।

राप्रपाले प्रदर्शन शान्तिपूर्ण रहने दाबी गर्दै सरकारलाई संयमता नगुमाउन अनुरोध गरेको छ। राप्रपाले सरकारद्वारा बल प्रयोग भए सामूहिक गिरफ्तारीको बाटो रोज्ने चेतावनी दिएको छ।

यसअघि निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै अराजकता सह्य नहुने र कडा कारबाहीको तयारी भएको स्पष्ट पारेको थियो।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो। सो घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंसहित राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहितका नेताहरू प्रहरी हिरासतमा छन्। उनीहरूको रिहाइ, राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले प्रदर्शनलाई निरन्तरता दिँदै आएको छ।

प्रदर्शनलाई लिएर काठमाडौंको वातावरण अहिले तनावग्रस्त छ। सुरक्षा संयन्त्र भने कुनै पनि अप्रिय घटना रोक्न सतर्क रहेको बताइएको छ।

Recent Comments

No comments to show.