स्थानीय तहका कर्मचारीको आन्दोलन घोषणा

स्थानीय तहका कर्मचारीको आन्दोलन घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय, शिक्षक र चिकित्सक आन्दोलनकै बीचमा अब स्थानीय तहका कर्मचारीहरू पनि आन्दोलनमा उत्रने भएका छन्। सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले वैशाख ८ गतेदेखि चरणबद्ध विरोध कार्यक्रम सार्वजनिक गरेका हुन्।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सञ्जालले २०८० असोज २७ गते भएको सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिने बताएको छ।

पहिलो चरणमा, आइतबार ७५३ पालिकाका प्रमुखमार्फत राज्य व्यवस्था समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन मन्त्री र मुख्यसचिवलाई सम्झौता स्मरण गराउँदै ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

त्यसपछिको चरणमा, वैशाख ८ गते सोमबार काठमाडौंमा दबाबमूलक कार्यक्रम आयोजना गरिने र ७५३ पालिकाका कार्यालयमा कालोपट्टी बाँधेर कार्यसञ्चालन गरिने जनाइएको छ।

आन्दोलनको अन्तिम चरणको रूपमा १२ वैशाख शुक्रबार काठमाडौं केन्द्रित सडक संघर्ष र देशभरका सबै स्थानीय तहमा पेनडाउन गर्ने कार्यक्रम तय गरिएको छ।

सरकारले निजामती सेवा विधेयक तत्काल जारी नगरेसम्म संघर्ष जारी रहने स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले चेतावनी दिएको छ।

यसबाहेक, हाल शिक्षक, चिकित्सक तथा संघीय निजामती कर्मचारीसमेत आन्दोलनरत छन्। यस्तो अवस्थामा स्थानीय तहका कर्मचारीको सडक संघर्ष थपिनु सरकारका लागि थप चुनौती बन्ने देखिएको छ।

Recent Comments

No comments to show.