राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड

राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबिच वेष्टमिनिष्टरमा शिष्टाचार भेटघाट भएको छ ।

मंगलबार भएको उक्त भेटको सुरुवातमा राजदूत घिमिरेले ‘बेलायती संसद् सबै सांसदहरूको जननी हो’ भन्ने बेलायती राजनीतिज्ञ एवं सुधारक जोन ब्राइटको भनाइ उद्धृत गर्दै बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाए ।

राजदूत घिमिरेले नेपालको संसद् समावेशी भएको स्मरण गराउँदै नेपालको संसदमा बेलायतलक्षित सर्वदलीय संसदीय समिति गठन गरिएको जानकारी दिएका थिए । उनले सभामुख होयलसमक्ष नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति पनि आभार व्यक्त गरे ।

बेलायत र नेपाल दुई देशबिच दुई शताब्दी बढीको न्यानो र सौहार्दपूर्ण सम्बन्ध स्मरण गर्दै राजदूत  घिमिरेले उच्चस्तरीय भ्रमण र आदानप्रदानको महत्त्वमा जोड दिएका थिए । उनले नेपाललाई बेलायतबाट निरन्तर र अझ बढी सहयोगको आवश्यकतामाथि पनि प्रकाश पारेको दूतावासले जनाएको छ ।

राजदूतले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धि आकांक्षा पूरा गर्न र २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट ग्रयाजुएसनपछिको प्रगतिलाई दिगो बनाउन तथा बाँकी रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा पनि गरेका थिए ।

उक्त भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबिचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबिच सहकार्यको सम्भावना व्यक्त गरे ।

सभामुख होयलले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा सहयोग प्रदान गरिरहने विश्वास पनि व्यक्त गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

Recent Comments

No comments to show.