ललितपुर । यही चैत २२ र २३ गते ललितपुरको कुमारीपाटीमा दुई दिने सडक महोत्सव आयोजना गरिने भएको छ।
कुमारीपाटी-जावलाखेल विकास संस्थाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिँदै संस्थाका अध्यक्ष विरेन्द्रलाल श्रेष्ठले ललितपुरको इटीटोलदेखि जावलाखेलसम्मको करिब एक किलोमिटर सडक क्षेत्रमा शुक्रबार र शनिबार महोत्सव सञ्चालन गरिने बताए।
“ललितपुरको ईटी चोकदेखि कुमारीपाटी, तफाल्हो हुँदै जावलाखेलसम्म एक किलोमिटर क्षेत्रमा सञ्चालन हुने यस महोत्सवमा विविध सांस्कृतिक, साँगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ। ललितपुरको ऐतिहासिक तथा पुरातात्विक सम्पदालाई उजागर गर्दै आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्नु महोत्सवको मुख्य लक्ष्य हो,” उनले भने।
महोत्सवमा ऐतिहासिक झाँकी तथा सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुतिहरू, नेपालका विभिन्न जातजातिको सांस्कृतिक नृत्य, फेसन शो, फेस पेन्टिङ, ट्याटु, फूड स्टल तथा हस्तकला लाइभ शो लगायतका गतिविधिहरू रहने जानकारी उनले दिए।
महोत्सवमा ८१ वटा क्यानोपी स्टल, ३० वटा फूड स्टल, २९ वडा स्टल तथा ४ वटा हेल्प डेस्कको व्यवस्था गरिने आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक विरेन्द्र शाक्यका अनुसार महोत्सवको व्यवस्थापन तथा समन्वयका लागि कुमारीपाटी-जावलाखेल विकास संस्थाको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। साथै, व्यवस्थापन, आर्थिक, प्रचार-प्रसार, स्टल व्यवस्थापन, स्वास्थ्य, स्वयंसेवक, सरसफाइ तथा सुरक्षा उपसमितिहरू गठन गरिएका छन्।
महोत्सवको उद्घाटन चैत २२ गते शुक्रबार दिउँसो २ बजे बागमती प्रदेशका मुख्यमन्त्री श्री बहादुर सिंह लामाले गर्ने कार्यक्रम रहेको छ।
उपत्यकामा आयोजना हुने अन्य महोत्सवहरूमध्ये उत्कृष्ट बनाउन लक्ष्य राखिएको यस महोत्सवमा करिब ५ लाख आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ।
जावलाखेल र कुमारीपाटी क्षेत्रमा व्यवसाय वृद्धि गर्दै ललितपुरको अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक शाक्यले बताए।
उद्योग वाणिज्य संघ ललितपुरका वरिष्ठ उपाध्यक्ष सुसन महर्जनले उद्योगी व्यवसायीहरूका समस्या समाधानका लागि संघ प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव महत्वपूर्ण हुने बताए। साथै, संघले स्थानीयस्तरमा हुने मेला तथा महोत्सवहरूलाई निरन्तर सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाए।
प्रतिक्रिया