ललितपुरमा क्षयरोग संक्रमण उच्च, नियन्त्रण चुनौतीपूर्ण

ललितपुरमा क्षयरोग संक्रमण उच्च, नियन्त्रण चुनौतीपूर्ण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो एक वर्षमा ललितपुरमा ९५५ जनामा क्षयरोग पुष्टि भएको छ भने १७ जनाको मृत्यु भइसकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमण दर अपेक्षाकृत रूपमा अझै उच्च देखिएको छ, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार तुलनात्मक रूपमा ललितपुरले क्षयरोग नियन्त्रणमा राम्रो प्रयास गरे पनि अझ प्रभावकारी रणनीति आवश्यक रहेको छ। ‘नेपालमा क्षयरोग ठूलो स्वास्थ्य चुनौतीको रूपमा उभिएको छ। कतिपय संक्रमित समयमै उपचारमा नआउँदा संक्रमण दर बढ्ने जोखिम छ,’ उनले बताए।

ललितपुर महानगर क्षेत्रमा क्षयरोग प्रभावितको संख्या धेरै देखिएको छ, जसको मुख्य कारण उच्च जनसंख्या घनत्व र सीमित स्वास्थ्य सेवा पहुँच रहेको बताइएको छ। रोग नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक भए पनि हालसम्मका प्रयास प्रभावकारी नभएको विज्ञहरूको भनाइ छ।

नेपालमा हरेक वर्ष १६ हजारले क्षयरोगका कारण ज्यान गुमाउने गरेका छन् भने ६८ हजारभन्दा बढी नयाँ संक्रमित थपिने तथ्यांक छ। तर, आवश्यक बजेट तथा स्रोतसाधन अभावले क्षयरोग निवारण अभियान कमजोर बनेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।

चिकित्सकहरूका अनुसार सचेतना अभाव, लक्षण देखिँदा पनि जाँच गर्न नजान्ने प्रवृत्ति, र संक्रमितको सम्पर्क पहिचानमा कठिनाइ जस्ता कारणले क्षयरोग अझै भयावह बन्ने खतरा छ।

विज्ञहरूले सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्यमा सचेतना तथा रोकथाम अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्।

Recent Comments

No comments to show.