काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको आरोप लगाएका छन्।
गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेस सरकारमा भए पनि सुशासन स्थापित गर्न नसकेको बताए। ‘नेपाली कांग्रेस र एमाले सरकारमा छन्। हामीले सुशासनका लागि काम गर्नुपर्छ, तर अहिले देशमा सुशासन छैन’ उनले भने।
सांसद कोइरालाले सरकारले योग्यता हेरेर होइन, मनपरी ढंगले कर्मचारी नियुक्त गर्ने आरोप लगाए। ‘मन्त्रिपरिषद्मा एक, दुई, तीन नम्बरको सूची आउँछ, तर सरकारले आफ्नो मनपर्ने उम्मेदवारलाई छनोट गर्छ। यस्तो प्रवृत्तिले सुशासन बिथोलिएको छ’ उनले भने।
उनले सरकारलाई खबरदारी गर्नु आफ्नो जिम्मेवारी रहेको उल्लेख गर्दै नेपाल अहिले संकटमा रहेको बताए। ‘अबका दिनमा कुनै पनि पार्टीको पछि लाग्दिनँ’ भन्दै उनले कांग्रेसभित्रै सुशासन र लोकतान्त्रिक मूल्य मान्यताका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया