एनआइसी एसियाको व्यवसाय संकटमा : ६१ अर्ब निक्षेप बाहिरियो, अन्यको वित्तीय अवस्था कस्तो ?

एनआइसी एसियाको व्यवसाय संकटमा : ६१ अर्ब निक्षेप बाहिरियो, अन्यको वित्तीय अवस्था कस्तो ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षमा एनआइसी एसिया बैंकलाई गम्भीर धक्का लागेको छ। अधिकांश बैंकले व्यवसाय विस्तार गरिरहँदा एनआइसीको भने निक्षेप संकलन र कर्जा लगानी दुवैमा भारी गिरावट आएको छ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालु आवको ८ महिनामा (साउन-फागुन) एनआइसी एसियाबाट ६१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ। यही अवधिमा अरु १९ बैंकले ३ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। गत असार मसान्तसम्म ३ खर्ब ६० अर्ब रुपैयाँ रहेको एनआइसीको कुल निक्षेप फागुन मसान्तसम्म १७.१५ प्रतिशतले घटेर २ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ।

८ महिनामा एनआइसीको कर्जा लगानी ३५ अर्ब ४३ करोड रुपैयाँले घटेको छ, जुन १२.४२ प्रतिशतको गिरावट हो। यही अवधिमा अन्य १७ बैंकले ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि कर्जा लगानी घट्दा बैंकलाई ठूलो नोक्सानी हुन्छ। महँगो ब्याजदरका कारण ग्राहकले एनआइसीको कर्जा अन्य बैंकमा सारेका छन्। माघसम्म एनआइसीको खुद नाफा घटेर मात्र ४७ करोड रुपैयाँमा सीमित भएको छ।

आर्थिक मन्दीकै बीच ग्लोबल आइएमई, एभरेष्ट र एनएमबी बैंक व्यवसाय विस्तारमा आक्रमक देखिएका छन्। चालु आवको ८ महिनामा ग्लोबल आइएमईले मात्रै ३९ अर्ब कर्जा लगानी गरेको छ, जुन वाणिज्य बैंकहरूले ८ महिनामा गरेको कुल कर्जा लगानीको १४ प्रतिशत हो। फागुनसम्म ग्लोबलले सबैभन्दा धेरै ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। निक्षेप संकलनमा भने ग्लोबल पाँचौं स्थानमा रहेको छ। ८ महिनामा ग्लोबलले २८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप थपेको छ, जसले कुल निक्षेप ५ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ।

एभरेष्ट बैंकले दोस्रो धेरै ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ, जुन कुल कर्जा लगानीको १३.४३ प्रतिशत हो। निक्षेप संकलनमा भने एभरेष्ट चौथो स्थानमा रहेको छ। ८ महिनामा एभरेष्टले ३४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। चुक्ता पूँजीका आधारमा अन्य बैंकभन्दा आधा सानो रहे पनि व्यवसाय विस्तारमा एभरेष्ट बैंक आक्रमक देखिएको हो। एनएमबी बैंक कर्जा लगानी र निक्षेप संकलन दुवैमा तेस्रो स्थानमा रहेको छ। ८ महिनामा एनएमबीले ३९ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै ४५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानीमा सातौं स्थानमा रहेको छ। ८ महिनामा यस बैंकले २२ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ। चालु आवको फागुनसम्म राष्ट्रिय वाणिज्यले २७ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सोही अवधिमा यस बैंकले १८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

यस अवधिमा नबिल बैंक निक्षेप संकलनमा तेस्रो र कर्जा लगानीमा छैटौं स्थानमा रहेको छ। ८ महिनामा नबिलले ३४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। लक्ष्मी सनराइज, प्राइम कमर्शियल, नेपाल बैंक, माछापुच्छ्रे, सानिमा, सिद्धार्थ, कुमारी, नेपाल एसबीआई, हिमालयन, कृषि विकास लगायतका बैंकले पनि कर्जा लगानी बढाएका छन्।

एनआइसीसँगै प्रभु र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी पनि घटेको छ। ८ महिनामा एनआइसीको सबैभन्दा धेरै ३५ अर्ब ४३ करोड रुपैयाँले कर्जा लगानी घटेको छ। त्यस्तै, प्रभुको १ अर्ब ३५ करोड र स्ट्याण्डर्ड चार्टर्डको ३ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी घटेको हो। बैंकहरूबीचको प्रतिस्पर्धा तीव्र भइरहेका कारण महँगो ब्याजदर भएका बैंकहरूले व्यवसाय गुमाइरहेका छन्। अर्थतन्त्रमा शिथिलता कायमै रहेकाले निकट भविष्यमा बैंकहरूको वित्तीय स्थिति झन् चुनौतीपूर्ण बन्ने आँकलन गरिएको छ।

Recent Comments

No comments to show.