काठमाडौं । प्रहरीले २ करोड ७५ लाख ११ हजार ४९८ रुपैयाँ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस-२ घर भई हाल ललितपुर महानगरपालिका-२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका-८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका-१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुलाई यही चैत १ गतेराति काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरिएको हो । उनीहरुले बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको उक्त सामानसहित निजहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया