काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब रुपैयाँभन्दा बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ भने सोही अवधिमा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५३ करोड ४७ लाख रुपैयाँ बढी रहेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको छ। तर फागुन मसान्तसम्म जम्मा ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ मात्र असुली भएको छ, जुन वार्षिक लक्ष्यको ५०.२ प्रतिशत मात्र हो। फागुनसम्म सरकारले कर राजस्वतर्फ ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ४९.७४ प्रतिशत हो। त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६०.३६ प्रतिशत अर्थात् ८१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ असुली भएको छ।
यस अवधिमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्ममा पूँजीगत खर्च वार्षिक विनियोजनको मात्र २३.३७ प्रतिशत रहेको छ। सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर हालसम्म जम्मा ८२ अर्ब ३३ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ। चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा ५१.२१ प्रतिशत अर्थात् ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ मात्र खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकामा ४७.०७ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ।
सरकारको वैदेशिक अनुदान सङ्कलन निकै कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म जम्मा ९ अर्ब १६ करोड २५ लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको १७.५१ प्रतिशत हो।
प्रतिक्रिया