काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले चैत १९ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। यसअन्तर्गत हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर प्रदान गरिनेछ।
हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति २०८२ बैशाख ८ गतेसम्म तोकिएको छ।
यस हकप्रद निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले सानिमा बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा निर्मित ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया