राष्ट्र बैंकले गर्याे संस्थापक सेयर खरिदबिक्री र नामसारीसम्बन्धी नयाँ व्यवस्था

राष्ट्र बैंकले गर्याे संस्थापक सेयर खरिदबिक्री र नामसारीसम्बन्धी नयाँ व्यवस्था

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर नामसारी, खरिदबिक्रि, हक हस्तान्तरण तथा पुँजी वृद्धि सम्बन्धी नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

अनुमतिपत्रप्राप्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा अरु कसैको नाम वा माध्यमबाट एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी सेयर वा पुँजी लगानी गरेकोमा वा अन्य कुनै तरिकाले सोको वास्तविक धनीको रुपमा रहेको भएमा त्यस्तो वास्तविक धनीको अद्यावधिक व्यक्तिगत विवरण (नाम, थर, पति/पत्नी, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोबाइल नं., इमेल ठेगाना) राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।

संस्थापक सेयरको खरिदबिक्री वा नामसारी गर्नु पूर्व राष्ट्र बैंकको बैंकको स्वीकृति लिनुपर्ने, स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस तथा अन्य सेयरधनीको लिखित सहमतिसहित निवेदन दिनुपर्ने, सामान्यतः अनुमतिपत्र प्राप्त भएको मितिले ५ वर्षसम्म संस्थापक सेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

तर, आधुनिक प्रविधि भित्र्याउन पुँजी थप गर्नुपर्ने अवस्था वा दुई वा दुईभन्दा बढी संस्था एक आपसमा गाभिई नयाँ लगानीकर्ता थप गर्दा वा अन्य कुनै मनासिव कारणले संस्थापक शेयर खरिदबिक्री गर्नुपर्ने औचित्य पुष्ट्याई हुने अवस्थामा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापक सेयर खरिद बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाको छ । यसरी सेयर खरिद बिक्री गर्दा सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गरी प्रति कित्ता सेयर मूल्य निर्धारण गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार संस्थापक सेयर लिएका व्यक्तिको मृत्यु भएमा वा प्रचलित कानुनबमोजिम पारिवारिक अंशबन्डा भएमा प्रचलित कानुनको रित पु¥याई निजको हकदार वा निजले इच्छाएको व्यक्तिको नाममा स्वीकृति लिई नामसारी गर्न सकिनेछ ।

संस्थापक सेयर खरिदकर्ता व्यक्ति भएमा सेयर खरिद गर्न प्रस्तावित व्यक्तिको तोकिएको ढाँचामा व्यक्तिगत विवरण, संस्थापक हुन अयोग्य नरहेको स्वःघोषणा, कालोसूचीमा नरहेको वा कालोसूचीमा परेको भए सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको प्रमाण, पछिल्लो आवको कर चुक्ता गरेको प्रमाण, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नभएको प्रमाण र लगानीको स्रोत खुलाई सोको प्रमाण राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । सेयर खरिद गर्न प्रस्तावित व्यक्ति हाल कायम संस्थापक सेयरधनी रहेको भए व्यक्तिको अद्यावधिक व्यक्तिगत विवरण, कालोसूचीमा नरहेको प्रमाण, पछिल्लो आवको कर चुक्ताको प्रमाण, लगानीको स्रोत खुल्ने प्रमाण पेश गर्नुपर्ने छ ।

संस्थाको कानुनी वा अन्य सल्लाहकार पदमा बहाल रहेको तथा संस्थाको आन्तरिक वा बाह्य लेखापरीक्षकको रुपमा नियुक्त व्यक्ति वा राष्ट्र बैंकले समय समयमा तोकेको न्यूनतम योग्यता र अनुभव नभएको व्यक्ति संस्थाको संस्थापक सेयर खरिद गर्न अयोग्य मानिने राष्ट्र बैंकले जनाएको छ ।

संस्थापक सेयर खरिदकर्ता संस्था भएमा प्रस्तावित संस्थाको हकमा लगानी गर्ने संस्थाको सञ्चालक समितिको निर्णय, संस्थाको दर्ता प्रमाणपत्र, कुनै निकायबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त गरको भए सोको प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, कालोसूचीमा नरहेको वा कालोसूचीमा परेको भए सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको प्रमाण, संस्थाका सञ्चालकहरुको प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नभएको प्रमाण, पछिल्लो आवको कर चुक्ता गरेको प्रमाण, पछिल्लो आवको लेखापरीक्षण प्रतिवेदन, सेयर लगत, अन्तिम हिताधिकारीको विवरण र लगानीको श्रोत खुलाई सोको प्रमाण पेश गर्नु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

सेयर खरिद गर्न प्रस्तावित संस्था हाल कायम संस्थापक सेयरधनी रहेको भए सञ्चालक समितिको निर्णय, अद्यावधिक शेयर लगत, पछिल्लो अवको लेखापरीक्षण प्रतिवेदन तथा लगानीको स्रोत समेत पेश गर्नु पर्नेछ । प्रस्तावित संस्थापक सेयरधनीको सञ्चालक समितिमा प्रतिनिधित्व हुने भएमा प्रस्तावित सञ्चालक नीतिगत व्यवस्था बमोजिम अयोग्य नरहेको तथा फिट एण्ड पर्पर मापनका आधार पूरा गरेको प्रमाण समेत पेश गर्नु पर्नेछ ।

पुँजी वृद्धि गर्ने उद्देश्यले संस्थाले नयाँ संस्थापक सेयरधनी थप गर्न चाहेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ । यसरी नयाँ संस्थापक सेयरधनी थप गर्दा प्रति कित्ता शेयर मूल्य मान्यताप्राप्त लेखापरीक्षकबाट तयार गरिएको सम्पत्ति/दायित्वको विस्तृत मूल्याङ्कन प्रतिवेदनबाट निर्धारण गर्नुपर्ने छ ।

Recent Comments

No comments to show.