मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान मन्दिरमा भव्य धार्मिक अनुष्ठान आयोजना हुँदै

मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान मन्दिरमा भव्य धार्मिक अनुष्ठान आयोजना हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राजधानीको मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान मन्दिरमा यही फागुन २१ गतेदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ।

विक्रम सम्वत् २०२२ मा वैकुण्ठवासी श्री १००८ श्रीनिवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको उक्त मन्दिर २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि संघ, प्रदेश, स्थानीय तह र भक्तजनहरूको सहयोगमा करिब १६ करोडको लागतमा पुनर्निर्माण सम्पन्न गरिएको हो।

फागुन २१ देखि २६ गतेसम्म विशेष धार्मिक समारोह आयोजना गरिँदैछ, जसमा गोदा वेणुगोपाल भगवानको प्राणप्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान हुनेछ। यस अवसरमा भक्तजनहरूले साधारण अर्चनादेखि विशेष कर्ता बन्नेसम्मका सेवाक्रममा सहभागी हुन सक्नेछन्।

साधारण अर्चनाका लागि एक हजार एक सय रुपैयाँदेखि विशेष कर्ताका लागि सात लाख रुपैयाँसम्मको सेवा शुल्क निर्धारण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिए।

धार्मिक अनुष्ठानमा नेपाल तथा भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीहरूको विशेष उपस्थिति रहनेछ।

मन्दिरका मठाधीश स्वामीयतीन्द्राचार्यका अनुसार, वैदिक सनातन धर्मको प्रचार–प्रसार गर्ने उद्देश्यले मन्दिर पुनर्निर्माणसँगै विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्दै जाने योजना बनाइएको छ।

वि.सं. २०२२ देखि नै वैष्णवीय दीक्षा प्रदान हुँदै आएको यस मन्दिरमा भगवान वेणुगोपाल, महालक्ष्मी एवं आलवार आचार्य गरी तीन सन्निधि रहेका छन्। ४ रोपनी ४ आना क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा ८ सयजना भक्तजनहरू अटाउने धर्मशाला, गौशाला, यज्ञकुण्ड लगायतका संरचनाहरू निर्माण गरिएका छन्।

साथै, आगामी शैक्षिक सत्रबाट गुरुकुल सञ्चालन गर्ने तयारी समेत गरिएको छ। दिव्यदेश शैलीमा निर्माण गरिएको यो भव्य मन्दिरमा तोताद्रिमठका ३१औं पीठाधिपति जगद्गुरु श्री १००८ मधुरकवि वानमामलै रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा धार्मिक अनुष्ठान सम्पन्न गरिनेछ।

अनुष्ठान अन्तर्गत फागुन २१ गते साँझ सभाप्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पण हवन, दिव्यप्रबन्ध सेवाकालम तथा तीर्थगोष्ठी गरिनेछ। २२ गते यागशालामा द्वारतोरण, ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण हवन, वास्तुपूजा एवं तीर्थप्रसाद वितरण गरिनेछ।

त्यस्तै, फागुन २३ गते मूलमूर्ति हवन, शान्तिपाठ, नवकलश स्नपन एवं होमादि कार्यहरू सम्पन्न हुनेछन्। फागुन २४ गते अष्टाक्षरी वासुदेव हवन, पूर्णाहूति, शय्याधिवास एवं फलपुष्पाधिवास गरिनेछ भने २५ गते विम्ब प्रतिष्ठा, अष्टबन्धन, यन्त्रस्थापना एवं नित्य होमादि कार्यक्रम गरिनेछ।

अनुष्ठानको अन्तिम दिन फागुन २६ गते महापूर्णाहूति, नेत्रोन्मीलन, महासम्प्रोक्षण, प्रथम आराधना, मठाधीश पट्टाभिषेक, आचार्य संभावना एवं तदीयाराधनाजस्ता धार्मिक विधिहरू सम्पन्न गरिनेछन्।

यस धार्मिक समारोहमा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। श्री गोदा वेणुगोपाल भगवान मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै यो धार्मिक स्थल वैदिक संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा स्थापित हुने विश्वास लिइएको छ।

Recent Comments

No comments to show.