काठमाडौं । सरकारसँग पाँच बुँदे सहमति भएपछि ग्यास उद्योगीहरूले जारी आन्दोलन फिर्ता लिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा सहमति भएको हो।
ग्यास उद्योगीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका थिए। सहमतिअनुसार आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ रुपैयाँ मूल्य वृद्धि गरिनेछ, तर उपभोक्तालाई भने मूल्य नबढ्ने व्यवस्था गरिएको छ।
सहमतिको अर्को प्रमुख बुँदा अनुसार ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा दिने वा निश्चित प्रतिशतमा दिने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने निर्णय भएको छ। साथै, निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने सहमति पनि गरिएको छ।
त्यस्तै, निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिने सहमति भएको छ।
सहमति भएसँगै नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। उपभोक्ताले अब सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।
प्रतिक्रिया