काठमाडौं । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ। आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले उनको मुटुमा स्टेन राखेर उपचार गरेका छन्।
नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राका अनुसार डा. यादव भट्टको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले शाहको उपचार गरिरहेको छ। मिश्राले पारस शाहको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जानकारी दिएका छन्। उनले भने, “उहाँ अहिले आईसीयूमा हुनुहुन्छ तर स्वास्थ्य लाभ गरिरहनुभएको छ, आत्तिनुपर्ने अवस्था छैन।”
पूर्वराजाका परिवारका सदस्यहरू सोमबार नर्भिक अस्पताल पुगेर पारस शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अस्पताल स्रोतका अनुसार पारस शाहलाई एक-दुई दिनमै डिस्चार्ज गरिने सम्भावना रहेको छ।
यसैबीच, अस्पतालले पारस शाहको स्वास्थ्य स्थितिबारे औपचारिक विज्ञप्ति जारी नगर्ने जनाएको छ। परिवारका सदस्यहरूले लो प्रोफाइलमा रहन चाहेकाले सार्वजनिक जानकारी नदिएको अस्पतालले स्पष्ट पारेको छ।
पारस शाहलाई यसअघि पनि तीन पटक हृदयाघात भइसकेको थियो। यो चौथो पटकको हृदयाघात भए पनि स्वास्थ्यमा सुधार देखिएको चिकित्सकहरूले बताएका छन्।
प्रतिक्रिया