उपत्यकामा बिजुली आपूर्ति सुधार्न थप २० सबस्टेशन बनाइँदै, ६ निर्माणाधीन

उपत्यकामा बिजुली आपूर्ति सुधार्न थप २० सबस्टेशन बनाइँदै, ६ निर्माणाधीन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यका भित्रको बिजुली आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेशन निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा १३२/११ केभीका ६ वटा सबस्टेशन निर्माण गरिरहेको छ ।

यसमध्ये काठमाडौंको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ । फुटुङ र मूलपानी सबस्टेशन अन्तिम चरणमा छन् । दुवै सबस्टेशनलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् ।

भक्तपुरको चाँगुनारायण सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेशनलाई सञ्चालन (चार्ज) मा ल्याउन मात्र बाँकी रहेको छ । चोभार सबस्टेशन आउँदो असारभित्र र भक्तपुरको ठिमी सबस्टेशन आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन् ।

प्रत्येक सबस्टेशनको क्षमता ९०/९० एमभीए रहेको छ । सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा थप झन्डै ५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । अहिले काठमाडौं उपत्यकाको बिजुली माग ५०० मेगावाटको हाराहारीमा छ ।

थप २० वटा सबस्टेशन निर्माण गरिने

भविष्यमा वृद्धि हुन सक्ने बिजुलीको सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको बिजुलीको उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायतका पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् ।

तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेशन निर्माणाधीन छ ।

काठमाडौं उपत्यकाको बिजुली आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सबस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरू सञ्चालित छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार निर्माणाधीन सबस्टेशनको अनुगमन गरी काठमाडौं उपत्यकाभित्रको बिजुलीको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे । निर्माणाधीन सबै सबस्टेशन सञ्चालनमा आएपछि काठमाडौंको बिजुलीको माग र आपूर्ति व्यवस्थापनमा धेरै सहज भई आपूर्ति थप भरपर्दो एवम् गुणस्तरीय हुने उनले उल्लेख गरे ।

काठमाडौंको दक्षिण-पूर्वी क्षेत्रको बिजुली आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा १३२/११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । चपली-भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मूलपानी सबस्टेशनमा छिराएर बिजुली आपूर्ति दिइने छ । यो सबस्टेशनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मूलपानी, जोरपाटी, साँघु, ठिमीलगायतका क्षेत्रमा बिजुली आपूर्तिका लागि ११ केभीका आठ वटा फिडर निकालिएको छ । सबस्टेशन चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेशन निर्माण अन्तिम चरणमा छ । बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेशनमा ट्यापिङ गरी त्यस क्षेत्रमा बिजुली आपूर्ति गरिने छ । दुई महिनाभित्र यो सबस्टेशन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यो सबस्टेशन सञ्चालन आएपछि बालाजु, नेपालटार, गोलढुङ्गालगायतका क्षेत्रको बिजुली आपूर्ति थप सुधार हुनेछ ।

काठमाडौं उपत्यकाको बिजुली आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेशन निर्माण गरिएको छ । यो सबस्टेशनमा मातातीर्थ सबस्टेशनबाट बिजुली आपूर्ति दिइनेछ । यो सबस्टेशन आउँदो असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

चोभारमा सबस्टेशनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुर्‍याइने छ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आउँदा दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एशियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।

Recent Comments

No comments to show.