काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको आज शुक्रबार बिहान ५ बजे महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
श्रेष्ठ नेपालको न्याय प्रणालीमा महत्त्वपूर्ण योगदान दिने व्यक्तित्वमध्ये एक थिइन्। उनले २०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेपछि कानुनी क्षेत्रमा प्रवेश गरेकी थिइन्। कानुनी करिअरको सुरुवात कृष्णप्रसाद भण्डारीको ‘नेपाल ल फर्म’बाट गरेकी श्रेष्ठले पछि भूमिसुधार विशेष अदालत, ललितपुर र भक्तपुरमा पनि सेवा दिइन्।
तत्कालीन कानुन सचिव रामानन्दप्रसाद सिंहको सिफारिसपछि उनले न्यायाधीशका लागि आवेदन दिएकी थिइन्। नाम छनोट भएसँगै श्रेष्ठ भूमिसुधार अदालत, कास्की र लमजुङका लागि न्यायाधीश नियुक्त भइन्। यससँगै उनले नेपालको पहिलो महिला न्यायाधीशको इतिहास रचिन्।
चार दशक न्याय सेवामा बिताएकी श्रेष्ठ २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएकी थिइन्। २०६५ जेठ २० मा उनले सेवा निवृत्त लिएकी थिइन्।
श्रेष्ठको निधनप्रति कानुनी क्षेत्रका विज्ञ, न्यायाधीश तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको योगदान नेपाली न्याय क्षेत्रमा ऐतिहासिक रहेको उल्लेख गर्दै कानुनी वृत्तमा शोक छाएको छ।
प्रतिक्रिया