सेयर धितो कर्जा १९.८ प्रतिशतले बढ्यो, पाँच महिनामा १७ अर्ब ८५ करोड ऋण लगानी

सेयर धितो कर्जा १९.८ प्रतिशतले बढ्यो, पाँच महिनामा १७ अर्ब ८५ करोड ऋण लगानी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू सेयर कर्जा लगानीमा आक्रमक बनेका छन् । अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग नहुँदा बैंकहरू सेयर कर्जा लगानीलाई प्राथमिकतामा राख्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिना (साउन–मंसिर) मात्रै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ सेयर कर्जा (मार्जिन प्रकृतिको) कर्जा लगानी गरेका छन् ।

यो चालु आवमा गरेको कुल कर्जा लगानीको १०.९४ प्रतिशत हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सोमध्ये झण्डै १८ अर्ब सेयर कर्जा लगानी गरेका हुन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ मार्जिन कर्जा लगानी गरेकोमा चालु आवको मंसिर मसान्त आइपुग्दा १९.८ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

चालु आवमा बैंक तथा वित्तीय संस्थाले भदौमा सबैभन्दा धेरै ८ अर्ब ३२ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । त्यस्तै, साउनमा १ अर्ब ३५ करोड, असोजमा ६ अर्ब ६ करोड, कात्तिक १ अर्ब ९४ करोड र मंसिरमा १८ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लगायत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

अर्थतन्त्रमा आएको शिथिलता कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा उत्पादनमूलक, निमार्ण लगायत क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन भने अटो, घरजग्गा, सेयर कर्जाको माग भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र बैंकको कडाइका कारण विगतमा सेयर कर्जा लगानी गर्न चासो नदिएका बैंकहरूले अहिले नीतिगत लचकतासँगै आक्रमक बन्न थालेका हुन् ।

राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो । त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । गत वर्ष मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो । त्यस्तै, ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

अहिले बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले २०८० कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट ७ प्रतिशतमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले साढे ७ प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ ।

करोड बढी ऋण लिने २७ प्रतिशतले बढे

चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बढीको सेयर कर्जा लगानी ह्वात्तै बढेको छ । राष्ट्र बैंकका अनुसार चालु वर्षको ५ महिनामा १ करोड बढीको सेयर कर्जा लगानी २७.३ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा मंसिर मसान्तमा आइपुग्दा बढेर ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । ५ महिनामै १ करोड माथिको सेयर कर्जा १५ अर्ब २५ करोड रुपैयाँले बढेको हो । राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा हटाएसँगै ठूला लगानीकर्ताले धमाधम ऋण लिएर सेयर किन्न थालेको देखिन्छ ।

त्यस्तै, चालु आवमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी ११.३ प्रतिशत अर्थात् १ अर्ब ४० करोड रुपैयाँले बढेको छ । त्यसैगरी, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी ५.९ प्रतिशत अर्थात् ८५ करोड ६७ लाख रुपैयाँले बढेको छ ।

२५ लाख मुनिको सेयर कर्जा लगानी वृद्धिदर भने न्यून छ । ५ महिनामा यस्तो कर्जा लगानी ४.६ प्रतिशत अर्थात् ३३ करोड ६७ लाख रुपैयाँले बढेको छ । पछिल्लो समय सानोभन्दा ठूलो रकम लिने लगानीकर्ता ह्वात्तै बढेको राष्ट्र बैंकले जनाएको छ ।

Recent Comments

No comments to show.