अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्क

अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्क

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको पछिल्लो तथ्यांकले सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको देखाएको छ।

प्रहरी प्रवक्ता तथा वरिष्ठ उपरीक्षक विश्व अधिकारीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गरेका हुन्।

उनका अनुसार कात्तिक मसान्तसम्म दैनिक औसतमा १६२ मुद्दा दर्ता भएका छन्। आत्महत्याका दैनिक २० घटना र जबरजस्तीकरणीका दैनिक ७ मुद्दा दर्ता हुने गरेको जानकारी दिँदै उनले गत वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष अपराधका घटनामा वृद्धि भएको बताए।

जबरजस्तीकरणीका मुद्दा गत वर्षको ८०९ बाट बढेर यस वर्ष ८२३ पुगेको छ भने जबरजस्तीकरणीको प्रयासका मुद्दा १६३ बाट बढेर १८६ पुगेका छन्।

साक्षात्कारका क्रममा प्रवक्ता अधिकारीले नेपाल प्रहरीका मुख्य कार्य तथा उपलब्धिहरूका बारेमा विस्तृत जानकारी पनि दिए।

उनले मानवस्रोत विकास, स्रोतसाधन व्यवस्थापन, अपराध अनुसन्धान, फैसला कार्यान्वयन, र घरेलु हिंसासम्बन्धी तथ्याङ्क प्रस्तुत गरे। प्रहरी इकाईहरूको संख्या, भर्ना छनोट, सरुवा, बढुवा, र कारवाहीसम्बन्धी हालसम्मका गतिविधिहरूका साथै भौतिक संरचनाहरूको अवस्थाबारे पनि जानकारी गराए।

कार्यक्रममा प्रवक्ता अधिकारीले अपराध नियन्त्रणका चुनौती र समाधानका उपायबारे चर्चा गर्दै, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराधहरू चुनौतीपूर्ण भएको बताए। “स्रोतसाधनको उच्चतम प्रयोग गर्दै अपराध नियन्त्रणमा प्रहरी सक्रिय छ,” उनले भने।

साथै, आर्थिक अपराधको प्रभावले अन्य अपराधहरूमा वृद्धि भएको तथ्याङ्कले देखाएको उनले उल्लेख गरे।

अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबी काठमाडौंले सम्पादित कार्यहरू र संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिताबारे पनि जानकारी दिइयो। ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, राजस्व योगदान, र प्रहरी सेवासम्बन्धी कामहरूका मुख्य उपलब्धिहरू समेत प्रस्तुत गरियो।

सञ्चारकर्मीहरूले उठाएका जिज्ञासामा प्रवक्ता अधिकारीले प्रहरी संगठनले आन्तरिक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै गम्भीर उजुरीहरूमा विभागीय कारबाही गरिरहेको बताए।

Recent Comments

No comments to show.