काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने छोटो दूरीको वैकल्पिक कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा १२ दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि उक्त सडकमा १२ दिन सवारी आवतजावतमा रोक लगाएको हो । उक्त सडकमा असोज ८ गतेदेखि १९ गतेसम्म सवारी चलाउन रोक लागाइएको हो ।
नगरपालिकाका अनुसार दक्षिणकाली-छैमले खण्ड कालोपत्र कार्य सुरु गर्न सवारी आवागमनमा रोक लगाइएको हो । कालोपत्र गर्ने काम अघि बढाउन सवारी चापका कारण कठिनाइ भएकाले गाडी संचालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उक्त सडक बन्द भएकाले सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।
उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।
प्रतिक्रिया