काठमाडौं । गत असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध अन्ततः आजबाट खुलेको छ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगेको प्रस्तावमाथि छलफल गर्दै केही सर्तसहित मन्त्रिपरिषद्ले टिकटक खुलाउने औपचारिक निर्णय गरेको हो।
यो निर्णयसँगै अब प्रतिबन्ध लगाइएको एप टिकटक सहज रुपमा चलाउन पाइने भएको छ। सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने र ‘पोइन्ट अफ कन्ट्र्याक्ट’ पनि तोकिनुपर्ने सर्तसहित टिकटक खुलाइएको मन्त्री गुरुङले बताएका छन्।
सरकारले राखेको अर्को सर्त हो फिल्टिरिङ । मन्त्री गुरुङले भने, ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो परिस्थिति कुनै पनि नआउने गरी फिल्टिरिङ हुनुपर्छ ।’ तत्कालीन प्रचण्ड सरकारले टिकटकबाट सामाजिक मर्यादा उल्लंघन भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
अब सरकारले यस्तो नहुने अवस्थाको सुरक्षा टिकटक कम्पनीबाट खोजेको छ । साथै सरकारले सुरक्षाको विषय पनि सर्तमा राखेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने, डिजिटल साक्षरताका लागि सहयोग गर्नुपर्ने लगायतका सर्तहरू छन् । टिकटक कम्पनीले नेपाल सरकारका यी सर्तहरूमा सहमति जनाई सम्झौता गरेपछि टिकटकमाथि प्रतिबन्ध हटेको विषय कार्यान्वयनमा जानेछ । यसपछि मात्र मोबाइलमा टिकटक खुल्नेछ ।
प्रतिक्रिया