काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा नयाँ पुल माग्दै युवाहरूले सुरु गरेको आमरण अनशन आज तेस्रो दिन पनि जारी छ । कमला नदीमा पुल नहुँदा सानो दूरीको यात्रा तय गर्न लामो बाटो प्रयोग गर्नुेपर्ने बाध्यता रहेको भन्दै सिरहाका १० युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशनमा बसेका छन् ।
अनशनका बसेका १० युवामध्ये सात जनाको स्वास्थ्यमा समस्या देखिएको छ । अनशन कार्यक्रमका संयोजक इन्जिनियर प्रविण यादव, सिरहा नगरपालिका– ४ का वडाध्यक्ष मोहम्मद समसाद, औरही गाउँपालिका– ३ का वडाध्यक्ष जीवछ यादव, सोही गाउँपालिका –४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका– ८ का वडा सदस्य इन्जिनियर रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव र इन्जिनियर शिवशंकर यादवको स्वास्थ्यमा समस्या देखिएपछि स्लाइन चढाइएको छ ।
शारीरिक रूपले कमजोर भएका अनशनकारीहरूको स्वास्थ्यमा थप समस्या आउन नदिन तत्काल स्लाइन चढाइएको जनाइएको छ ।
यता, कमला पुल निर्माणका लागि थालिएको आमरण अनशनप्रति समर्थन जनाउँदै सिरहामा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । त्यसैगरी, सिरहाको नागरिक समाजले पनि आमरण अनशनप्रति समर्थन जनाउँदै शुक्रबार सिरहा बजार बन्द गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया