काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ३२६ सिँचाइ आयोजना निर्माण भएका छन् । बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारको सशर्त अनुदानमा एक वर्षमा ती आयोजना पूरा भएका जिल्ला जलस्रोत तथा सिँचाइ विकास कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेटमा २९७ योजनाका लागि बजेट विनियोजन गरिएकामा २८८ वटा योजना सम्पन्न भएका उक्त कार्यालयका सूचना अधिकारी कुश बुढाथोकीले जानकारी दिए। प्रदेश सरकारअन्तर्गतका योजनामध्ये चार योजना कार्यान्वयनमा जान सकेका थिएनन् भने ५ योजना गत असारमा सम्झौता भई काम सुरू भएको छ ।
त्यसैगरी, सङ्घीय सरकारको सशर्त अनुदानतर्फ २९ योजनामा बजेट विनियोजन भएकामा दुईवटा एकीकृत ऊर्जा कार्यक्रमअन्र्तगतका सिँचाइ आयोजनाबाहेक २७ योजनाको काम भएको उक्त कार्यालयले जनाएको छ । अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयन गरेका १७ बहुवर्षीय सिँचाइ आयोजनामध्ये दुई वर्षअघि सुरु गरिएका तीन आयोजनाको काम सम्पन्न भएको इन्जिनियर बुढाथोकीले बताए ।
बहुवर्षीय सिँचाइ योजनामध्ये चाखोला-चिते-सिङ्गे-चैनपुर सिँचाइ आयोजना मण्डनदेउपुर-३ र ४, आँसीखोला-आँपखोला सिँचाइ योजना मण्डनदेउपुर-४ र लप्सीबोट डिही-ओडारे-घिमिरेगाउँ बञ्जरे-रुप्सेटार मोड सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको हो ।
जिल्लामा सञ्चालित बहुवर्षीय सिँचाई योजनामध्ये तेमाल गाउँपालिका-८ स्थित सिँचाइ योजना, पाँचखाल नगरस्थित शङ्करेबाँध-ब्रम्हायणी सिँचाइ योजना निर्माण भइरहेको छ ।
त्यसैगरी पाँचखालकै चाखोला-जोरपिप्ले लिफ्ट सिँचाइ योजना, बनेपाको हिले-जलजले पर्यटकीय ताल, तेमालमा सुनकोशी-चोपाटार-मुक्पाटार सिँचाइ योजना र थिलवार पारी थिल्वार रोशी लिफ्ट सिँचाइ योजना, पनौतीमा बस्नेतटार लिफ्ट सिँचाइ योजना, रोशी गाउँपालिकामा शिखरटार सिँचाइ योजना, रोशी खोलाबाट काल्धारसम्मको लिफ्ट सिँचाइ आयोजनाको काम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।
महाभारत गाउँपालिकामा चारवटा बाहुनविर्ता-मूलिखोला लिफ्ट सिँचाइ योजना, कोखाजोर खोला आपटार गोकुले सिँचाइ योजना, चाउखोला धाप लिफ्ट सिँचाइ योजना, चाउखोला सोक्तेल सिँचाइ योजना र पोखराखोला-बेसारे खानीटार-छाङटार सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छन् । रासस
प्रतिक्रिया