दिपक घिमिरे
काठमाडौं । पशुपतिनाथ स्थित वनकालीमा सञ्चालन भइरहेको ऐतिहासिक विशाल कोटी होम यज्ञको अवसरमा धार्मिक कथा प्रवर्चनहरु सुरु भएको छ । एक महिनासम्म चल्ने ऐतिहासिक विशाल कोटी होममा धार्मिक गुरुहरू द्वारा कथा प्रवर्चनका साथै सत्संग सुरु गरिएको हो ।
कथा सुन्न र यज्ञको दर्शन गर्न धार्मिक पर्यटकहरूको दैनिक भिडभाड बढ्न थालेको छ । यज्ञकै अवसरमा श्रीराम कथा प्रवचन हुने भएको छ । कोटी होम यज्ञको परिसरमा साउन १६ गते देखि ३२ गतेबाट राम कथा प्रवचन सुरु हुने छ ।
श्रीराम कथा प्रवचन राम कथावाचक सुश्री चन्द्रकलासखीबाट हुनेछ ।
मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन भएको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने आयोजक मानव सेवा फाउन्डेशनले जनाएको छ ।
मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।
यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया