विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्रा संचिति इतिहासकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।

गत असारको तुलनामा वैशाखसम्म विदेशी मुद्रा संचिति २७.८ प्रतिशतले बढेको हो । असार मसान्त्सम्म कुल विदेशी मुद्रा संचिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

डलर संचिति साढे १४ अर्ब नाघ्यो

यस्तै, अमेरिकी डलर संचिति पनि हालसम्मकै धेरै भएको छ । वैशाखसम्म राष्ट्रिय ढुकुटीमा १४ अर्ब ७२ करोड अमेरिकी डलर संचित छ ।

गत असारको तुलनामा चालु वर्षमा डलर संचिति २५.७ प्रतिशतले बढेको हो । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।

२०७९ असोजदेखि डलर संचिति लगातार बढिरहेको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट १८ करोड डलर थपिएको ।

डलर संचिति बढेको यो लगातार बीसौं महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड, असोज ३७, कात्तिकमा ४२ करोड, मंसिरमा ५५ करोड, पुसमा ३९ करोड, माघमा २० करोड, फागुनमा २५ करोड, चैतमा २२ करोड, वैशाख र जेठमा समान १८ करोड डलर थपिएको छ ।

त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, २०७९ पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूत डलर संचिति लगातार बढिरहेको छ ।

Recent Comments

No comments to show.