काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।
आयोगले बुधबार महर्जनले नगरपालिकाको निर्णय विपरीत एक्लौटी ढंगले बाढी पीडितलाई पैसा बाँडेको भन्दै पत्र काटेको हो । महर्जनलाई आयोगले असार २६ गते बिहान १० बजे सक्कल नागरिकतासहित उपस्थित हुन भनेको छ ।
महर्जनले बाढी पहिरोबाट प्रभावित वडा नम्बर २४ स्थित धापाखेलका प्रभावितलाई डेढ लाख र अढाई लाखका दरले राहत दिएका थिए ।
‘२०७७ सालमा धापाखेलमा आएको बाढी पहिरोका पीडितलाई नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरलाई हानी हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको छ,’ पत्रमा भनिएको छ,’ उक्त उजुरीको अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौं।’
महानगरले अख्तियारकी आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको भोलिपल्टै महर्जनलाई पत्र काटेको हो । बुधबार महानगरका मेयर महर्जनको उपस्थितिमा चाकुपाटस्थित अमात्यको घरको पर्खालको डोजर चलाइएको थियो । अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएको पाइएपछि महानगरले पर्खाल भत्काएको थियाे ।
प्रतिक्रिया