काठमाडौं । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दर्ता गरेको छ।
ब्रेकसु र अन्य इलेक्ट्रिक समानमा राखेर सुन तस्करी गरिएको अभियोगसहित जिल्ला सरकारी वकीलको कार्यालयले सजायको माग राखेर मुद्दा दायर गरेको हो।
६० किलो सुन तश्करीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सिद्धनाथ अशोक गायकवाड, प्रशान्त गणेश बजबलकर, धिरज दिनेश भोईटे, सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ ब्रह्मादत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, राजु भोटे, कुङ्गा टासी शेर्पा भन्ने चिनियाँ नागरिक जिन जाङ्ग, प्रज्वल आचार्य, सुरज शम्शेर जबरा, दुईवटा डिजिटल भुक्तानी प्रदायक कम्पनी लगायतलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो।
अभियोग पत्र अनुसार विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको तौल ३१९४.६६८ केजी भएको देखिन आएको छ
बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ बिगो दाबी गरिएको छ। अभियोगपत्रमा चिनिया नागरिक वाङ दोजेङ्गको समूहमा रही संगठीत भई आपराधिक समूह बनाई समूहबीचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको दाबी लिइएको छ।
यी प्रतिबादीलाई सुन तस्करी, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग छ।
यसअघि प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा २०८० साल भदौमा पनि २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया