नेपाल र चीनबीच संयुक्त आयोग बनाउने सहमति

नेपाल र चीनबीच संयुक्त आयोग बनाउने सहमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन्।

नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो।

बैठकको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले  गरेका थिए।

बैठकमा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा विगतमा भएका निर्णयहरुको मूल्याङ्कन गरिएको थियो।

उनीहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्रालयले जनाएको छ।

दुवै तर्फबाट नेतृत्व गर्नुभएका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको बताएका थिए।

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद दिइन्। उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे।

दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा समेत छलफल भएको थियो। सन् २०२५ लाई नेपाल र चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन्। यस्तै, बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ।

उपविदेशमन्त्री वेइतोङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’  र सँग शिष्टाचार भेट गरेको थियो। मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँग भेट गरेका उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।  उपविदेशमन्त्री वेइतोङ र उनको प्रतिनिधिमण्डल सोमबार काठमाडौँ आइपुगेको थियो। उनी आजै बेइजिङ फर्किनेछ।

Recent Comments

No comments to show.