महाधिवेशनपछि नेकपा एसको कार्यसमितिको सङ्ख्या घट्ने

महाधिवेशनपछि नेकपा एसको कार्यसमितिको सङ्ख्या घट्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले १०औं राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने सो कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।

विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाएर संगठनलाई थप प्रभावकारी बनाउन लागिएको जनाइएको छ।

सानो कार्यसमिति भएपछि छिटो–छरितो बैठक सञ्चालन तथा सदस्यलाई बैठकमा उपलब्ध गराउन, छलफल गर्न, निर्णय कार्यान्वयन गराउन सहज हुने उनले बताए। कार्यसमिति सानो हुने भएपछि केन्द्रीय कमिटीमा जान चाहने नेताहरूको प्रतिस्पर्धा बढेको छ।

सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ।

महाधिवेशन आयोजक समितिका ४० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ। कुल १८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिनेछ।

तत्कालीन नेकपा एमालेसँग विभक्तपछि गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

Recent Comments

No comments to show.