गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका प्रत्येक निकायमा दलीय भागबण्डा गर्ने र राज्यस्रोतको दोहन गर्ने प्रवृत्ति मौलाएर गएको बताएका छन् ।
गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले केन्द्र र प्रदेश सरकार पटक–पटक फेरबदल हुने, राजदूत जस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिहरू सरकार फेरिने बितिक्कै परिवर्तन गरेर दलीय भागबण्डामा मान्छे पठाउने कुरा खेदजनक भएको उल्लेख गरे। उनले दलीय भागबण्डमा राजदूत पठाउने कुरा लोकतन्त्र नभएइको बताए।
‘नेपाली राजनीतिमा मजाक भइरहेको छ, प्रत्येक कुरामा दलीय भागवण्डा गर्ने, काक्रो चिरेझैं चिरेर खाने र राज्यस्रोतको दोहन गर्नुलाई नै राजनीतिक अभिष्ट ठान्ने प्रवृत्ति मौलाएर गयो,’ भट्टराईले भने ।
अध्यक्ष भट्टराईले लोकतन्त्रका लागि लडेका नेताहरूले नै लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि गर्नु निन्दनीय भएको बताए।
केन्द्र सरकार परिवर्तनसँगै प्रदेश सरकार पनि फेर्ने गलत परम्परा पुराना दलहरू र मुख्यतया प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु गरेको भट्टराईको आरोप थियो। गण्डकी प्रदेश सभामा नेसपाका सांसद फणिन्द्र देवकोटालाई केन्द्रबाट निर्देशन दिएर कारबाही भएको उनको दाबी थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालबाट गोरखाली जनतालाई घात भएको पनि भट्टराईको आरोप थियो। उनले भने, ‘पाहुना उम्मेदवारको रुपमा ल्याएर जुन विश्वास गरेका थियौं, यसले देशलाई, लोकतन्त्रलाई र खासगरी गोरखाली जनतालाई पनि ठूलो घात भयो भन्ने लाग्छ।’
प्रधानमन्त्री दाहाल सत्तामा बसुन्जेल देशमा अस्थिरता भइरहने उनले बताए।
प्रतिक्रिया