ललितपुर । उच्चअदालत पाटनका मुख्य न्यायाधीश नृपध्जज निराैलाले मेलमिलापमार्फत गरिने न्यायिक निरुपणले दिगाे समाधान दिन्छ भन्ने बताएका छन ।
ललितपुर महानगरपालिकाद्वारा आइतबार यहाँ आयाेजित मेलमिलाप सम्बन्धी आधारभूत तालिमकाे उद्घाटन समारोहमा मन्तव्य राख्दौ उनले संसारभरि विवाद निरुपण गर्ने माध्यम भनेकाे न्यायिक प्रक्रिया नै भएपनि स्थानीय तह, वडा र समुदायस्तरमा हुने मेलमिलापले समाजमा शान्ति र स्थायी अमनचयन कायम हुने बताए ।
“विश्वमा कतै पनि विवादविनाकाे ठाउँ छैन । विवादरहित समाज हुनै सक्दैन । संसारभरि विवाद निरुपण गर्ने माध्यम भनेकाे न्यायिक प्रक्रिया नै हाे । तर अदालत भित्र रहेर पनि मेलमिलाप हुने व्यवस्था छ। मेलमिलापले दुवै पक्षको सम्मान हुन्छ, मेलमिलाप सम्बन्धी ऐन २०६८ ले अदालत र समुदायमा हुने मेलमिलापलाई बैधानिकता दिएकाे हुँदा यसले पनि न्याययिक निरुपण हुने अवस्था छ।मेलमिलापमार्फत गरिने न्यायिक निरुपणले दिगाे समाधान दिन्छ।” मुख्यन्यायाधीश निराैलाले भने।
अदालती फैसलामा जानुअघि सर्वाेच्च अदालत, उच्चअदालत र जिल्ला अदालतमा मेलमिलाप केन्द्रमार्फत मेलमिलाप हुने प्रसंगलाई प्रष्ट पर्दै उनले अहिले स्थानीय तहका पालिकाहरुमा भएको मेलमिलाप केन्द्रकाे अभ्यासलाई वडा तहसम्म पुर्याउनु पर्छ भन्नेमा जाेड दिए । समुदायमा आधारित मेलमिलाप र पालिकास्तरमा हुने मेलमिलापले विवादकाे दीर्घकालीन समाधान हुन्छ भन्दै उनले ललितपुर महानगरले मेलमिलाप पद्धतिलाई अत्यन्तै महत्त्व दिएकाेले याे सराहनीय काम भएको बताए। मेलमिलापकर्ता समाजकाे सेवक हाे भन्दै उनले ४८ घण्टाकाे ८ दिने तालिमले निष्पक्ष भएर विवाद निरुपणमा लाग्न महत्त्वपूर्ण ज्ञान हासिल हुने बताए ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले याे आधारभूत तालिमले समाजका विवाद निरुपणका लागि आफ्नो खुवी प्रदर्शन गर्नसक्ने सकरात्मक, सृजनशील मेलमिलापकर्ताहरु तयार हुने बताए ।
“अहमतालाई न्युनिकरण गर्दै आपसी समाजस्यता र सद्भाव कायम गर्न महत्त्वपूर्ण काम हुने छ। सभ्य समाज निर्माण नभएसम्म स्मार्ट सिटी निर्माण हुन सक्दैन, मेलमिलापका माध्यमबाट यहाँको घर, टाेल, समुदायका साथै सम्पूर्ण महानगरबासीले लाभ हासिल गर्ने विश्वास छ।” उनले भने ।
शान्तिपूर्ण समाज निर्माणका लागि मेलमिलापकाे नीतिलाई प्रथामिकतामा राखेर तालिम सञ्चालन गरेकाे बताउनुहुँदै उहाँले संविधानमा भएको याे व्यवस्था नयाँ जस्ताे लागेपनि याे पूर्वजहरुले सञ्चालन गरेकाे परम्परागत विधिमा समेत मेल खाने उत्कृष्ट विधि भएको जानकारी गराए । उनले परम्परागत पद्धतिलाई अहिले संस्थागत गर्ने काम मात्रै भएको हाे भन्दै याे दुवै पक्षलाईलाई जिताउने हिसावले हुनेहुँदा प्रभावकारी हुन्छ भन्ने धारणा राखे । उनले फैसलाकाे माध्यमबाट हुने न्यायिक निरुपणले विवादकाे पूर्णरूपमा समाधान नहुने र मुद्दा हार्नेमा नकारात्मक असर पर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले मेलमिलाप सम्बन्धी तालिमकाे अत्यन्तै सान्दर्भिकता रहेकाे बताउदै याे महत्त्वपूर्ण कामबाट हासिल हुने उपलब्धिकाे मुल्यांकन हुनेछ भन्ने बताए ।
महानगरकाे कानून महाशाखा प्रमुख खगेन्द्रप्रसाद वस्तीले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने महानगरकाे लक्ष्य अनुरुप प्रत्येक वडामा न्युनतम २० जना मेलमिलापकर्ता तयार गर्ने अभियान चलेकाे बताए । उनले अहिलेसम्म तीन सय जना मेलमिलापकर्ता तयार भइसकेको जानकारी गराउदै प्रत्येक वर्ष एक सय २० जनालाई आधारभूत तालिम दिने याेजना रहेकाे जानकारी गराए । आइतबारबाट सुरु भएको आधारभूत तालिम ४८ घण्टा अर्थात ८ दिनकाे हुनेछ। याे तालिममा दुई समूहमा गरेर ५४ जना सहभागी रहेका छन् ।
प्रतिक्रिया