राष्ट्रपतिका आर्थिक विज्ञ नेपालद्वारा राजीनामा

राष्ट्रपतिका आर्थिक विज्ञ नेपालद्वारा राजीनामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उनले राजीनामा दिएका हुन् । 

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा नेपालले दिएको राजीनामा  स्वीकृत गरेको जानकारी दिइन् । 

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, उनको विज्ञप्तिमा उल्लेख थियो । 

नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे उनले बोलेको विषयमा यसअघि राष्ट्रपतिले नै उनीसँग सोधखोज गरेका थिए । त्यसपछि उनले विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गरेका थिए । 

उनले विज्ञप्तिमा भनेका थिए, “यस विषयमा राष्ट्रपतिले चासो र जिज्ञासा राखेका केही अनलाइनमा आएका विषयमा मैले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकामा दुःखी भएको अवगत गराएको छु ।”

आफूले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र सम्मानित संस्थालाई अनावश्यक विवादमा ल्याएकामा दुःख व्यक्त गर्दै नेपालले आफ्नो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफैँ लिएको पनि वक्तव्यमा स्पष्ट पारेका थिए । 

उनले १०० को नोटमा चुच्चे नक्सा राखेर सरकारले भारतलाई चिढ्याउने कार्य गरेको आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको एमाले अध्यक्ष केपी ओलीले समेत आलोचना गरेका थिए ।

Recent Comments

No comments to show.