नेपालमा सहयोग बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

नेपालमा सहयोग बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन्।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरे। विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि  उच्चस्तरकै रहेको उनको भनाइ थियो।

सरकारको खर्च बढाउने, रोजगारी सृजना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्त्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकोमा उनले जोड दिए।

‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ’, पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु।’ आफूसँग विगतमा अर्थसहित विकासे मन्त्रालय सम्हालेको अनुभव रहेको र १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको नेतृत्वमा आएकाले पुँजिगत खर्च बढाउने गरी काम गर्ने विश्वास पुनले व्यक्त गरे।

मन्त्री पुनले विश्व बैंकको लगानीमा निर्माण हुने भनिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत आयोजना, प्रदेश तथा स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने बताए।

भेटमा डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाहरुको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराए। उनले विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई अवगत गराए।

उनले आगामी जुनमा काठमाण्डौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आइडीए० २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी दिएका थिए।

आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ।

Recent Comments

No comments to show.