अर्थतन्त्रका बाह्य सूचकमा सुधार

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिक अर्थतन्त्रमा शिथिलता कायमै रहे पनि अर्थतन्त्रको बाह्य सूचक निकै मजबुत अवस्थामा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना (माघसम्म)को अध्ययन प्रतिवेदनले यस्तो बाह्य क्षेत्र निकै मजबुत अवस्थामा रहेको देखाएको हो । बाह्य क्षेत्र भने विगत डेढ वर्ष यताकै बलियो अवस्थामा पुगेको हो ।

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विदेशी मुद्रा संचितिले महिनैपिच्छे रेकर्ड बनाउँदै गएको छ । बढ्दो रेमिट्यान्स, बढ्दो पर्यटक आवगमन र घट्दो आयातका कारण विदेशी मुद्रा संचितिले इतिहासकै धेरैको रेकर्ड बनाएको छ ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, अमेरिकी डलर संचिति पनि इतिहासकै धेरै भएको छ । माघ मसान्तसम्म राष्ट्रिय ढुकुटीमा १३ अर्ब ८९ करोड डलर संचिति छ ।

वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको माघको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा १.८ प्रतिशतले घटेर ८ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई रु. ८ खर्ब ९७ अर्ब ९४ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई रु. ८६ अर्ब ८३ करोड कायम भएको छ ।

चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।

यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।

Recent Comments

No comments to show.