काठमाडौँं। नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए। दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ र उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने उनको भनाइ छ।
उनले सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भूमिका रहने जानकारी पनि दिए।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीको रक्षा गर्ने कुरा आफ्नो कार्यभारका रूपमा लिएको प्रस्ट्याए। गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने वचन पनि उनले दिएका छन्।
कूटनीतिक आचारसंहिताको कार्यान्वयनमा विशेष जोड दिने र नेपालको राष्ट्रिय हित अनुकूल हुने वैदेशिक सहायता मात्रै स्वीकार गर्ने अडान पनि उनले राखेका छन्। राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।
उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदूत नियक्तिको मापदण्डलाई थप वस्तुनिष्ठ बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन्। स्वतन्त्र परराष्ट्रनीतिको अवलम्बन गर्ने गरी कूटनीतिक शिष्टता कायम राख्ने उनले भनेका छन्।
प्रतिक्रिया