काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएको बताएका छन्।
शुक्रवार चिवनमा भएको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यहीअनुसार नीति कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिए।
उनले नेपालमा पर्यटनको सम्भावना अथाह भए पनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे। उनले ठूला कार्यक्रममा र प्रचारप्रसारबिनै नेपालमा आएका भन्ने वास्तविकतालाई बुझेर सरकारले नीति नियम बनाउनु जरुरी रहेको बताए।
उनले पर्यटकका लागि आवश्यक पर्यटक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटन आगमनको अहिलेको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताए।
उनले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए।
उनले सरकारले पर्यटन सुधारका लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी रहेको बताए। उनले अर्थतन्त्र मन्दी आएको भन्दै समाधान गर्न सरकारले सक्रिय रुपमा पहल गर्न आवश्यक रहेको बताए।
उनले अर्थतन्त्रमा देखिएको वर्तमान अवस्था सर्वपक्षीय सहभागितामा समाधानको पहल पर्ने अपेक्षा निजी क्षेत्रको रहेको बताए। उनले अर्थतन्त्रका वर्तमान समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव राख्नसमेत आग्रह गरे। अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए।
उनले वैदेशिक रोजगारीमा जाने नेपाली बढेको भन्दै सरकारले तत्काल रोक्न आवश्यक रहेको बताए। उनले नेपालमै रोजगारी सिर्जना गरी नेपालमा व्यावसायिक वातावरण बनाएर वैदेशिक रोजगारीमा जान रोक्न सके छोटो समयमा व्यावसायिक गतिविधि बढ्न सक्ने दाबी गरे।
प्रतिक्रिया