काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन्।
शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अरूको खुट्टा तान्न धेरै व्यस्त भएकाले मुलुक सम्पन्न नहुने बताए। उनले सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए। उनले निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिस्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गरे।
उनले मुलुक २५ जना मन्त्री र ५-७ वटा राजनीतिक दलहरूले मात्रै बनाएर नबन्ने भन्दै तीन करोड नेपालीका ६ करोड हात संयमित रूपमा क्रियाशील हुनुपर्ने बताए।
उनले भने, ‘हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिस्थापन गर्यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ। त्यसतर्फ हामी सबैले सोच्नुपर्छ। यो दुईचारजना मन्त्रीले मात्रै सोचेर हुने होइन। राष्ट्रको सोचलाई उत्पादनमुखी र उद्योगमुखी दिशामा लैजानुपर्छ। अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन। मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन। यो ५-७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हात संयमित रूपमा क्रियाशील हुनुपर्छ।’
मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए।
प्रतिक्रिया