रुसी–युक्रेनी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजनिक गर्न माग

रुसी–युक्रेनी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजनिक गर्न माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रश्तुत गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन्। उनले रुसी सेनामा कति युवाहरु पुगेका छन्? कतिको मृत्यु भयो? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रूपमा जानकारी दिनुपर्ने बताए।

विवरण संसदमा अविलम्ब प्रश्तुत गर्न माग गरे। उनले युक्रेनी सेनाको बन्धक रहेका भनिएका दुईजना नेपाली युवाको स्थिति सार्वजनिक गर्न पनि माग गरे। उनले नेपालको घोषित परराष्ट्र नीतिअन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन नपाइने भएपनि युवाहरु भर्ती भइरहेका भन्दै कसको संलग्नतामा यस्तो भइरहेको हो भन्ने पनि प्रष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘नेपाल सरकारले सोमेश र लालबहादुर जस्ता अरु १२ जनाभन्दा बढी यो युद्धमा मृत्यु भएका भनिएका नेपाली युवाहरुको अवस्था के छ? केही जानकारीसम्म गराउन सकेको छैन। सञ्चार माध्यम र सामाजिक सञ्जालबाट परिवारजनले समाचार सुन्ने, आधिकारिकता थाहा पाउन नसक्ने, विचित्रको लाजमर्दो स्थिति विद्यमान छ। सरकारले उनीहरुको अवस्था जानकारी गराउन सक्ने जिम्मेवारी वहन गर्न किन सकिरहेको छैन। यो देशमा सरकार छ कि छैन? परराष्ट्र मन्त्रालय छ कि छैन? म प्रश्न गर्न चाहन्छु।’

उनले अगाडि भने, ‘आज रुस र युक्रेन दुवै देशको सेनामा भर्ती भएर आपसमा लडिरहेका छन् भन्ने जानकारी सरकारका सामु नपुग्नु बडो विडम्बनाको स्थिति हो। रुसी सेनामा नेपाली युवाहरु पुगेका छन्। कति जनाको मृत्यु भयो ? युक्रेनी सेनामा छन् कि छैनन्? सरकारले आधिकारीक रुपमा जानकारी देओस्। विवरण प्रश्तुत गरोस्  र संसदमा अविलम्व प्रश्तुत होस्। युक्रेनी सेनाको बन्धक रहेका भनिएका दुईजना नेपाली युवाको स्थिति सार्वजनिक गरोस्।’

उनले हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको स्थिति सार्वजनिक गर्न पनि माग गरे।

Recent Comments

No comments to show.