नाटक ‘गंगालाल’को शो थप, फागुन ५ सम्म मञ्चन हुने

नाटक ‘गंगालाल’को शो थप, फागुन ५ सम्म मञ्चन हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ शुक्रबारदेखि मञ्चन भइरहेको नाटक ‘गंगालाल’को मिति थपिएको छ।

माघ २९ सम्म मञ्चन हुने भनिएको नाटकमा बिस्तारै दर्शक बढिरहेकाले मिति थपिएको नाटकका निर्देशक तथा लेखक चे शंकरले बताए। सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित ‘गंगालाल’ नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरको दाबी छ। विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरूलाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए।

नाटकमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन्। यस नाटक स्कूलका विद्यार्थी , शिक्षक , राजनीतिज्ञ, लेखक र कलाकारहरूले गंगालाललाइ फरक पाटोबाट चिन्न हेर्नु पर्ने लेखक/निर्देशक चे बताउछन्।

सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न सुरू गरिएको यस नाटकलाई गत माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो। नाटकमा कलाकारहरू निर्भीक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन्। ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन्। नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन्।

नाटकको अतिरिक्त मन्चन शनिबार १ बजे पनि हुनेछ भने यो शैक्षिक विषयसँग जोडिएको नाटक भएकोले स्कूलका बालबालिका र शैक्षिक संस्थाहरुले अनुरोध गरेमा भिन्न-भिन्न समयमा पनि मञ्चन गरिने निर्देशक बताउँछन्। निर्देशक चे शंकरले यसअघि निर्देशन गरेका ‘कोही किन बरबाद होस्’ , ‘म्याड म्यान्स डायरी’, ‘लुक ब्याक इन एंगर’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘उलार’ नाटक रुचाइएको थियो।

Recent Comments

No comments to show.