काठमाडौँ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताएका छन्।
शुक्रबार भारत भ्रमणसम्बन्धी प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गर्दै उनले भारतीयहरुले नेपाललाई हेर्ने दृष्टिकोणमै बदलाव आएको दाबीसमेत गरे।
सभापति यादवले भारतले अर्थतन्त्रमा विश्वलाई नै नेतृत्व गर्ने लक्ष्य लिएको र त्यसका लागि भारत सरकार र त्यहाँका सांसदहरुले नेपालसँग अझै बलियो सम्बन्ध बनाएर जान चाहेको पनि आफूहरुसँगको छलफलमा बताएको उल्लेख गरे। सभापति यादवकाअनुसार भारतीय नेता र सांसदहरुले नेपाल एउटा इमान्दार मित्र भएकाले पनि सम्बन्धमा गाढापन ल्याउनुपर्ने बताएका थिए।
भारतीय सांसदहरुले आफूहरुसँगको भेटमा नेपालको समृद्धि आफूहरुको चाहना रहेको पनि बताएको सभापति यादवको भनाइ थियो। उनले आफूहरुले पनि भारतीय नेता तथा सांसदहरुसँगको भेटमा नेपालको शिर ठूलो हुने गरी प्रस्तुति दिएको दाबीसमेत गरे।
सभापति यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो। भ्रमणका क्रममा टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदहरुलगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।
प्रतिक्रिया