चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस

चिनियाँ टोलीसँगको खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली युवा टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चिनियाँ टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर भएको बताएका छन्।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यू–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिवार मैत्रीपूर्ण खेल हुँदै छ। 

सो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्य रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन्।

यसको तयारी पोखरामा पनि गरेको प्रशिक्षकले उल्लेख गरे। उनले अधिकांश यू–२० उमेर समूहका खेलाडी र एकजना यू–१६ खेलाडी पनि टोलीमा समावेश गरेको बताए।

नेपालस्थित चीनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप), नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा सो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ।

खेल दशरथ रंगशालामा शनिवार दिउँसो ३ बजे शुरु हुनेछ। अधिकांश खेलाडी विदेशिएका समयमा यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर हुने प्रशिक्षक एनेसले बताए।

उनले नेपालबाट खेलाडी मात्र नभई धेरैजना विदेश जाने गरेको र यो निकै दुःखद् पक्ष रहेको उल्लेख गर्दै पछिल्ला एक वर्षमा आफूले धेरै क्षमतावान खेलाडी गुमाउनुपरेको बताए।

छिमेकी राष्ट्र भारतको पछिल्लो समय एशियन कप आफूले हेरेको र त्यहाँ ६ वर्षदेखि राष्ट्रिय टोलीबाट नियमित रूपमा खेलेका खेलाडी रहेको उनले बताए।

भारतमा प्रशिक्षकले पनि लामो समय टिम हेर्न पाएकाले नतिजा राम्रो आएको धारणा उनको छ तर नेपालमा लगातार टोलीमा परिवर्तन भइरहनु दुःखद् पक्ष रहेको पनि उनले उल्लेख गरे।

तर पनि यसलाई अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताए। युवा खेलाडीले यो मैत्रीपूर्ण खेललाई अवसरका रूपमा लिने उनको भनाइ छ।

नेपालले गत वर्ष एशियन गेम्समा यू–२३ पुरुष फुटबल खेल्न नपाएकाले यो मैत्रीपूर्ण खेल युवा टोलीका लागि अवसर हुने विश्वास उनले व्यक्त गरे।

एन्फाले चिनियाँ टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ। कप्तान मनिषले प्रशिक्षणका लागि ८ दिनको समय पाएको उल्लेख गर्दै समय कम भए पनि तयारी राम्रो भएको बताए।

आफ्नो कप्तानी जिम्मेवारीमा उत्साहितभन्दा पनि खेलमा मात्र केन्द्रित भएको उनको भनाइ छ।

खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन्। पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुति समावेश हुने एन्फाले यसअघि नै जानकारी दिइसकेको छ।

चिङहाईको छिङ हाई युसु युवाका १६ जना खेलाडीसहितको टोली नेपाल आएको हो। उक्त टोलीमा औसत २२ वर्ष उमेरका खेलाडी छन्। 

चिनियाँ टोलीका प्रशिक्षक बादेङ चेङलिनले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि अवसर र सांस्कृतिक आदानप्रदान गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रशिक्षक बादेङले नेपाली टोली राम्रो रहेको आफूले सुनेको उल्लेख गर्दै खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे।

चिनियाँ टोलीले यो खेलबाट दुई देशको सम्बन्ध अझ राम्रो बनाउने विश्वास लिएको छ। लगभग एक महिनाको तयारी गरेर नेपाल आएको टोलीका कप्तानले बताए। 

साथै सो चिनियाँ टोलीले यो अवसरमा सांस्कृतिक आदानप्रदानका लागि यो खेल निकै महत्वपूर्ण हुने विश्वास राखेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर साधारणतर्फ ३०० रुपैयाँ र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरेको छ।

एन्फाले टिकट खरिद गर्ने दुईजना भाग्यशाली दर्शकका लागि काठमाडौँ-ल्हासा र ल्हासा-काठमाडौँको हवाई टिकटसमेत प्रदान गरिने जानकारी दिएको छ।

नेपाली युवा टोलीः

​गोलकिपरः पुजन होना, विशाल सुनार, सन्तोष महत

रक्षकः पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, सुमित श्रेष्ठ, विशाल बस्नेत

​मिडफिल्डरः आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बु, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, कुशल देउवा

​फरवार्डः समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी (कप्तान), आशिकबाबु चौधरी

Recent Comments

No comments to show.