विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरूलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् ।
कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरूको सुविधा थप्ने तयारी गरेको भन्ने समाचार आएपछि कांग्रेसका नेता डा कोइरालाको यो प्रतिक्रिया आएको हो ।
‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आज विराटनगर महानगरपालिका–७ मा आयोजित कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारले जनताका आधारभूत सुविधा थप्ने हो तर आफ्नो सेवा सुविधा बढाउने होइन ।’
आफैँले आफ्ना लागि सुविधा थप्ने काम गर्दा मुलुकमा लोकतन्त्र नेताहरूलाई मात्र आएको सन्देश जाने उल्लेख गर्दै उनले लोकतन्त्रको फल नागरिक सम्म पुग्नेगरि काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस नेता डा कोइरालाले पार्टीभित्र देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने र कांग्रेस देशका कुनाकाप्चासम्म तथा हरेक नेपालीका घरमा पुग्नुपर्ने बताए ।
प्रतिक्रिया