काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन्।
शहीद दिवस, २०८० को अवसरमा मंगलबार एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न सबैले आ–आफ्नो तर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्ने बताएका छन्।
महान् शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।
संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको राष्ट्रपतिले उल्लेख गरेका छन्।
शहीद दिवस, २०८० को अवसरमा राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रतिक्रिया