ललितपुर । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट काेअपरेटिभ सहकारीमा ३७ हजार ३ सय ९१ बचतकर्ताकाे सात आठ अर्बभन्दा बढि रकम फसेकाे छ । बचतकर्ताले रकम फिर्तामा लागि कार्यालयमा जाँदा बचत फिर्ता नपाएपछि बुधबार सुमेरुका तीन सय ७३ बचतकर्ताले बुधबार जिल्ला प्रशासन कार्यालय पुगेर ठगी र अपचलन मुद्दामा सहकारीका सञ्चालक तथा पूर्वसञ्चालकहरु बिरुद्ध जाहेरी दिएका छन् ।
ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलकाे सिफारिस समेतमा सुन्दरकृष्ण महर्जन सहित तीन सय ७३ जना बचतकर्ताले उक्त सहकारीबाट आफूहरूले पाउनुपर्ने २० कराेड रुपैयाँ बचत फिर्ता नपाएको र सहकारीका सदस्यहरुकाे आठ अर्ब भन्दा बढि बचत फिर्ता नभएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।
सुमेरु सहकारीका बचतकर्ताहरु बुधबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई जाहेरी पत्र बुझाएका हुन् ।
सहकारीमा जम्मा गरेकाे बचत फिर्ता हुने सुनिश्चितता नभएकोले सञ्चालक तथा पूर्वसञ्चालक बिरुद्ध जाहेरी दिनु परेकाे धापाखेलका बचतकर्ता सुन्दरकृष्ण महर्जनले जानकारी गराए ।
“हामी अहिले यहाँ आएका ३ सय ७३ जनाकाे २० कराेडभन्दा बढि बचत फिर्ता पाउन बाँकी छ । बचत फिर्ताका लागि सहकारीमा माग्न जाँदा सामान्य शिष्टाचार पनि हुँदैन । सहकारीका बचतकर्ता भएपनि सुमेरुले सञ्चालन गरेकाे हस्पिटलमा समेत हामीले उपचार पाउन सक्दैनौं । सहकारीकाे बचत दुरुपयोग गरेर सञ्चालक र पूर्वसञ्चालकहरुका १८ प्राइभेट कम्पनीमा लगानी भएको छ । हाम्राे बचत फिर्ता हुने सुनिश्चितता भएन । त्यसैले उनीहरुकाे सम्पति बेचेर भएपनि हाम्रो बचत फिर्ताका लागि हामीले जाहेरी दिएका हाै ।” पीडित बचतकर्ता महर्जनले भने ।
सहकारीका संस्थापक तथा पूर्वअध्यक्ष भरत महर्जन सहकारीमा समस्या आएपछि देश छाेडर भागेकाे पनि एक बर्ष भइसकेकाे र बर्तमान सञ्चालकबाट केही नहुनेदेखेपछि आफूहरु बाध्य भएर प्रशासन कार्यालय, सहकारी विभाग, प्रहरी कार्यालय, अदालत धाउनु परेकाे अर्का पीडित बचतकर्ता रामगाेबिन्द महर्जन बताए ।
“सहकारीले ३७ हजार ३ सय ९१ बचतकर्ताकाे सात आठ सय कराेड फिर्ता गर्नुपर्ने देखिन्छ । सामान्य बचतकर्तासंग ओैषधि किन्ने पैसा समेत भएन, माग्न जाँदा पैसा छैन भन्छ, सहकारीका सञ्चालक तथा पूर्वसञ्चालकहरु सेवा सुविधा उपयाेग गर्ने, माेजमस्ती गर्ने, जिम्मेवारीबाट पञ्छिने गर्छन् । आपत परेपछि पूर्वसञ्चालक भरत महर्जन बिदेश भागे । हामीलाई थाहै नदिई वर्तमान सञ्चालकले सम्पति बेचेर पैसा अपचलन गर्न थाले । पैसा पाइन्छ भन्ने आश नै भएन। हाम्रो कमाई सबै त्यहीँ भएपछि हामी त खत्तम भयाैं नि!”
चार पटक सहकारी रजिस्ट्रार कार्यालय पुग्दा पनि समस्या समाधान नभएको बताउदै बचतकर्ता अशाेक दाहालले धापाखेल शाखाका बचतकर्ताहरुकाे मात्रै १ अर्ब ८७ कराेड फिर्ता हुनुपर्ने रकम रहेकाे बताए ।
“सञ्चालक तथा पूर्वसञ्चालकहरुले दर्ता गरेकाे १८ वटा कम्पनीमा पैसा छ। भएको सम्पति पनि बेचेर भाग्ने डर छ । विभागमा पनि यही भनेका छाैं। पहल भएन, सञ्चालक तथा पूर्वसञ्चालकहरु सम्पत्ति लुकाउन श्रीमतीसंग डिभाेर्स गरेरै भएपनि बचतकर्तालाई झुक्याउन लागिपरेका छन् । “दाहालले भने ।
सुमेरुका कर्मचारीले मात्रै ८७ कराेड बचत ब्यक्तिगत रुपमा अपचलन गरेकाे बताउँदै त्यही मात्रै आएपनि सहकारीको समस्या तत्कालका लागि समाधान हुने दाहालले बताए ।
पीडित बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाउँदा गाउँ नै शाेकाकुल अवस्थामा रहेकाे गुनासाे गरे । प्रमुख जिल्ला अधिकारी सामु उनीहरुले बचत फिर्ता नपाउँदा पीडाका कारण काेही पनि सुत्न सक्ने अवस्थामा नरहेकाे र धेरै बचतकर्ता मानसिक राेगी भैसकेकाे गुनासो समेत गरे ।
जाहेरी बुझेर जाहेरीकर्ताहरुकाे गुनासाे सुनिसकेपछि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रशासन कार्यालयकाे काम शान्ति सुरक्षा कायम गर्ने भएको बताउदै समस्या समाधानका लागि सहकारी विभाग र मन्त्रालयमा पत्राचार गरि समाधानका लागि पहल गर्ने जानकारी दिए । “हाम्रो काम शान्ति सुरक्षा कायम गर्ने हाे,सहकारी बिभागमा पत्राचार गर्छाैं । अधिकार क्षेत्रभित्र नभएकोले सबै हामीले गर्न सक्ने अवस्था छैन । राजिष्ट्रार कार्यालय र मन्त्रालयसंग समन्वय गरेर समस्या समाधानका लागि पहल गर्छौं ।” प्रजिअ श्रेष्ठले भने ।
सहकारी दर्ता र नियमन गर्ने निकायले सञ्चालनमा भएको कमजोरीकाे पनि जिम्मा लिनुपर्छ भन्नुहुँदै सहजीकरण गरेर सकरात्मक बाताबरण तयार गर्न लागि पर्ने बताए ।
प्रतिक्रिया