मैलुङ-स्याफ्रुबेँसी सडक : ठेक्का तोडियो, धरौटी जफत गर्न बैंकलाई पत्रचार

मैलुङ-स्याफ्रुबेँसी सडक : ठेक्का तोडियो, धरौटी जफत गर्न बैंकलाई पत्रचार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–रसुवागढी सडक अन्तर्गत मैलुङ–स्याफ्रुबेँसी सडकको ठेक्का तोडिएको छ ।

पटक पटक म्याद थप्दा पनि मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर सडक निर्माणको जिम्मा पाएको ठेकेदारले काम नगरेपछि ठोक्का तोडिएको हो ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले जिम्मा लिएको काम समयमा नगरेपछि उक्त कम्पनीसँग गत शुक्रबार ठेक्का तोडेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार सम्झौता अवधिभित्र निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न पटक–पटक लिखित एवम् मौखिक अनुरोध गर्दा पनि सम्झौताको शर्त बमोजिम आफ्नो दायित्वको जिम्मेवारी पूरा नगरेकाले ठेक्का तोड्न कार्यालय बाध्य भएको हो ।

‘निर्माण कम्पनीसँगको ठेक्का सम्झौता बखतमा गरिएका शर्त र सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) समेतको आधारमा ‘गल्छी–रसुवागढी’ सडक योजनाअन्तर्गत ‘मैलुङ–स्याफ्रुबेँसी’ खण्डको ठेक्का रद्द भएको छ,’ योजना प्रमुख श्रेष्ठले भने, ‘निर्माण कम्पनी धरौटी जफतका लागि बैंकलाई पत्राचार गरेका छौं । सडक विस्तारको काम अब नयाँ प्रक्रिया (पुनः ठेक्का)बाट काम अघि बढाउने छौँ ।’

मैलुङबाट स्याफ्रुबेँसीसम्मको सडक निर्माणका लागि नेपाली सेनाले ट्रयाक खोलेपछि योजनाको कार्यालयले निर्माण व्यवसायीमार्फत काम गराउन विसंं २०७७ साउन १ गते ठेक्का लगाएको थियो । सम्झौताअनुसार विसंं २०७९ माघ १६ मा निर्माण सम्पन्न गर्नुपर्नेमा उक्त सडकको काम २६ प्रतिशत मात्रै पूरा भएको योजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार करिब १९ किमी दुई लेनको सडकमा कालोपत्र गर्न रु १ अर्ब ४५ करोडमा ठेक्का लगाइएको थियो । तर, निर्माण कम्पनीले सडकको दायाँबायाँ टेवा पर्खाल लगाएर रु ३७ करोड भुक्तानी लिएर काम नगरेपछि ठेक्का तोड्ने निर्णयमा पुगिएको हो ।

निर्माण कम्पनीले कार्यक्षेत्रमा काम अन्योल बनाएसँगै योजनाको कार्यालयले यसअघि २०७८ साल माघ २४ र २०७९ जेठ १७ मा नै अन्त्यन्त जरुरीको सूचनामार्फत ‘ठेक्का सम्झौता किन अन्त्य नगर्ने’ भनेर सचेत गराएको थियो । नेपाललाई चीन र भारतसँग जोड्ने सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा निर्माण भइरहेको धादिङको गल्छीदेखि रसुवाको रसुवागढीसम्मको सडक दुरी ८३ किमी छ ।

उक्त सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा विसं २०७३ पुसमा ठेक्का लगाएर २० महिनाभित्रै पूरा गर्ने लक्ष्य लिएको थियो । समग्र कामको प्रतिशत हालसम्म ५५ प्रतिशत मात्रै पूरा भएको छ ।

तीन खण्डमा निर्माण भइरहेको यस सडकको पहिलो खण्ड धादिङको गल्छीबाट नुवाकोट हुँदै रसुवाको मैलुङसम्म ४६ किमी सडकअन्तर्गत नुवाकोटको मुख्य बजार क्षेत्र गङ्गटे, बट्टार, विदुरहुँदै ढुङ्गेसम्मको ८ किमी क्षेत्रमा मुआब्जा विवादको समस्याले काम सुरु हुन अझै बाँकी छ ।

दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेसीसम्म १९ किमी सडकको ठेक्का हालै तोडिएको छ भने तेस्रो खण्ड स्याफ्रुबेसी–रसुवागढीसम्म १७ किमी सडक चीन सरकारले निर्माणको जिम्मेवारी लिए पनि अझै काम सुरु गर्न बाँकी छ ।

चीनसँगको अन्तर्राष्ट्रिय राजमार्गलाई भारतसँग जोड्न सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा कार्यान्वयनमा ल्याइएको सडकको तीनखण्डअन्तर्गत दुई खण्डको काम अनिश्चित भएसँगै समग्र योजनाको काम अन्योल बनेको हो ।

Recent Comments

No comments to show.