काठमाडौँ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी सहित ७ अन्य अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन्।
शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन एने, २०२८ को दफा ६ को उपदफा (३क) माइतीघर, नयाँ बानेश्वर क्षेत्रमा यही मङ्सिर ४ गतेदेखि निषेधाज्ञा तोकेको छ।
सुरुमा ३० दिनसम्मका लागि तोकिएको निषेधाज्ञा लगातार बढाइएको छ। निषेधाज्ञामा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइनेछैन।

Comment