सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारीले गलत बाटोमा जानबाट रोक्छ : सञ्चारमन्त्री शर्मा

सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारीले गलत बाटोमा जानबाट रोक्छ : सञ्चारमन्त्री शर्मा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताएकी छन ।

साउथ एसिया नेटवर्क टिभीले आज आयोजना गरेको दोस्रो चाइना नेपाल मिडिया सम्मेलनको उद्घाट्न गर्दै उनले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा राखिन्।

मन्त्री शर्माले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको उल्लेख गरिन् । यसलाई कार्यान्वयन गर्ने सवालमा कमीकमजोरी भएमा सञ्चारमाध्यम तथा पत्रकारले स्वस्थ आलोचना तथा खबरदारी गर्नु सकारात्मक रहेको उनको भनाइ थियो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक अधिकार पनि पूर्ण नहुने भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको राजनीतिक अधिकार नेपालमा स्थापित भएको मन्त्री शर्माले बताइन्।

मन्त्री शर्माले भने, ‘विगतमा हामीले प्राप्त गरेका सफलतामा सञ्चारमाध्यमको ठूलो सहयोग र समर्थन रहँदै आएको छ ।’ १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सुरु भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध भने सयौँ वर्षअघिदेखिको भएको मन्त्री शर्माले बताइन् ।

‘यस क्षेत्रको मानव सभ्यताको विकाससँगै नेपाल र चीनबीचको सुमधुर सम्बन्ध रहँदै आएको पाइन्छ । भृकुटी, अरनिकोजस्ता विभूतिले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने काम गरेका छन्’, मन्त्री शर्माले भनिन् ।

सदियौँदेखिको नेपाल र चीनबीचको सम्बन्ध अझ बढी प्रगाढरुपमा अघि बढिरहेको मन्त्री शर्माको भनाइ थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरीय भ्रमण पनि हुँदैआएका उनले बताइन् ।

पछिल्लो समय विश्वभरि देखिएको आर्थिक संकचनको असर सञ्चारमाध्यममा पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याएका चुनौतीको सामना गर्नु साझा सरोकार भएको जनाइन् ।

मन्त्री शर्माले भनिन्, ‘नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया थालनी गरिएको छ । सूचना प्रविधिका पछिल्ला आविष्कार प्रयोग गर्दै सबैखाले सञ्चारमाध्यमलाई डिजिटल प्लेटफर्ममा लैजानु अनिवार्य नै भइसकेको छ ।’

सरकार/सरकार र जनता/जनताबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशका सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि यस्ता सम्मेलन फलदायी हुने बताइन् ।

Recent Comments

No comments to show.