काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रिने सबै ब्राण्डका विद्युतीय सवारीसाधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्। उनले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताए।
उनले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आए पनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताए। उनले नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको उल्लेख गरे।
एकजनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबैमाथि रहने उनको भनाइ थियो। उनले विद्युतीय सवारीसाधनहरुलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताए।
उनले सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिने र पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको बताए।
निर्देशक घिसिङले नेपालमा १०० वटा सवारीसाधन भित्रिँदा ७० वटा विद्युतीय सवारीसाधन भित्रिन थालेको बताए। उनले अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारीसाधन भित्रिएको उल्लेख गरे।
उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधनको लागत १५ गुणा सस्तो रहेको बताए। उनले अब बुझ्ने मानिसहरु कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारीसाधन नकिन्ने दाबी गरे।
उनले विद्युतीय सवारीसाधन मात्रै सञ्चालन गर्न सके ६ खर्बको आयातलाई २० अर्बको विद्युत खपत गर्दा पूर्णरुपमा आयात प्रतिस्थापन हुने उल्लेख गरे।
उनले ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्यमा झार्न सकिने बताए।
प्रतिक्रिया